कांग्रेस दमनकारी पार्टी हो – एमाले अध्यक्ष ओली

कांग्रेस दमनकारी पार्टी हो – एमाले अध्यक्ष ओली

झापा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई लोकतन्त्रको महिषा नठान्न र बढी फूर्तीफार्ती नगर्न चेतावनी दिएका छन् ।

एमाले झापाको बिर्तामोडमा बिहीबार ११ औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै ओलीले कांग्रेसले कम्युनिस्टको सधैं खेदो गरेको आरोप लगाए ।

कांग्रेसलाई वर्गशत्रुकै रूपमा व्याख्या गरेका ओलीले सुनका माला देखाएर कम्युनिस्टको विनाश गर्ने रणनीति कांग्रेसले अंगीकार गरेको जिकिर समेत गरे ।

‘कांग्रेस र राजा मिलेर २००७ सालदेखि नै कम्युनिस्टको खेदो गरेका हुन्,’ अध्यक्ष ओलीले भने,’ कांग्रेसले सधैं एमालेप्रति अस्वस्थ व्यवहार गर्‍यो, कांग्रेस दमनकारी पार्टी हो ।’

सम्बोधनको अधिकांश समय कांग्रेसको आलोचनामा खर्चिएका उनले पार्टीको मात्रै होइन, व्यक्तिगत रूपमा पनि कांग्रेस नेतालाई गाली गर्न भ्याए ।

उनले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई ‘झिल्के केटो’ को संज्ञा दिए । ‘ झापा-१ मा एउटा झिल्के केटाले जितेको छ, एमालेकै कमजोरीका कारण उसले जितेको हो । अब झापालाई ४८ सालकै अवस्थामा पुर्‍याउनुपर्छ, त्यसबेला झापा जिल्ला लालकिल्ला थियो ।’

ओलीले झापा-१ का सांसद शर्माले कहिल्यै पनि समृद्ध नेपाल र सुखी नेपाली भन्न नसक्ने आरोपसमेत लगाए । ८४ को चुनावमा एमाले एक्लैले बहुमत ल्याउने दाबी गरेका ओलीले अरू केही नदेख्न र मिसन ८४ मात्रै देख्न निर्देशनसमेत दिए ।

‘मिसन ८४ भनेको एमालेको एक्लो बहुमत हो,’ उनले भने, ‘एमालेको उडान देखेर अरू दल रुखको हाँगाबाट हामफाल्न खोजिरहेका छन्, अब सबै ठाउँ जित्नुपर्छ । बहुमत ल्याएर शासन गर्ने हो, सबै कुरा छाडेर तपाईंहरू यही मिसनमा लाग्नुस् ।’

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको खुलेर बचाउ गरेका उनले रविका विषयमा कांग्रेसले डबल स्ट्यान्डर्ड देखाएको बताए । ‘रविजीलाई प्रधानमन्त्री भइदेऊ भन्ने, आफूले भनेको नमान्दिँदा गृहमन्त्री नस्वीकार्ने यो कांग्रेसले गरेको राजनीतिक बेइमानी हो,’ ओलीले भने,’ आफूले भनेको नमान्दा गृहमन्त्री स्वीकार्दिनँ भन्नु कांग्रेसको डबल स्ट्यान्डर्ड हो ।’

इलाम-२ मा सुहाङ नेम्वाङलाई पार्टीले उम्मेदवार बनाएको स्पष्ट पारेका उनले सुहाङ पढेको, युवा र शालीन व्यक्ति भएकाले पार्टीको रोजाइमा परेको बताए । इलाम र झापा सिमाना जोडिएका जिल्ला भएकाले सुहाङको जितका लागि जस्तोसुकै सहयोग गर्न नेता/कार्यकर्तालाई निर्देशनसमेत दिए ।

जिल्ला नेतृत्व सहमतिमा चयन गर्न बारम्बार निर्देशन दिएका उनले आफूलाई बिर्सेर पार्टी केन्द्रित भएर अघि बढनुको विकल्प नभएको बताए । पार्टीका अघि व्यक्ति गौण हुने उनको टिप्पणी छ ।

‘शुद्धीकरण र सुदृढीकरण अहिलेको आवश्यकता हो,’ अध्यक्ष ओलीले भने, ‘कम्युनिस्टको उद्गम र आधारभूमि हो, यसलाई मनन गरेर अधि बढ्नुस्, सहमतिमा नेतृत्व छान्नुस्।’ कोही एक्लै हिँड्न खोजे ऊ दुर्घटनामा पर्ने ओलीको तर्क छ।

आज सुरु भएको एमाले झापाको अधिवेशनले भोलि ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने कार्यतालिका छ। तथापि,अहिलेकै विवाद कायम रहे त्यो कार्यतालिका परिवर्तन हुने निश्चित जस्तै छ।

अध्यक्ष ओलीको निर्देशन पालना भएमात्रै झापामा एमालेको सर्वसम्मत नेतृत्व छानिने सम्भावना रहेको स्वयं एमाले नेताहरूले जिकिर गरेका छन् । एमाले झापा अध्यक्षमा प्रेम गिरी र शिव ढुंगेलको दाबी छ। गिरी कार्यबाहक अध्यक्ष र ढुंगेल वर्तमान सचिव हुन् ।

पुराना कम्युनिस्ट र एमाले नेताहरूलाई सम्मान गरिएको कार्यक्रममा नेताहरू अमृतलाल बोहोरा, अष्टलक्ष्मी शाक्य, घनश्याम खतिवडा , विशाल भट्टराई लगायतले आआफ्नो धारणा राखेका थिए । अधिवेशनमा ७०० प्रतिनिधिको सहभागिता रहेको एमाले झापाले जनाएको छ।