अधिवेशनको मुखैमा ओली पक्षमा २ खेमा, गिरी र ढुंगेल अध्यक्षका दाबेदार

अधिवेशनको मुखैमा ओली पक्षमा २ खेमा, गिरी र ढुंगेल अध्यक्षका दाबेदार

काठमाडौँ ।

नेकपा एमाले झापाको ११ औँ जिल्ला अधिवेशन आजदेखि बिर्तामोडको अग्रसेन भवनमा सुरु हुँदै छ ।

अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्दै छन् । अधिवेशनबाट ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुँदै छ । नेकपा एमाले नयाँ नेतृत्वका लागि अध्यक्षमा कार्यवाहक अध्यक्ष प्रेम गिरी र सचिव शिव ढुंगेल आकांक्षी छन् ।

तर, बुधबार साँझ केपी ओली पक्षले पदाधिकारी टुंगो लगाएको एमाले स्रोतले सूचना चुहाएको छ । गोप्य सूचनाअनुसार अध्यक्षका बलिया उम्मेदवार ढुंगेलसँग छलफलसमेत नगरी गिरीलाई अध्यक्षमा सर्वसम्मत गरिएको छ ।

अध्यक्षमा गिरी, उपाध्यक्षमा असारु राजवंशी, सचिवमा तुलसी कार्की, उपसचिवमा अनिता कन्दङ्वा र खगेन्द्र नेपालको नाम टुंगाे लगाइएको छ । राजवंशी दुवैतर्फका साझा उम्मेदवार हुन् ।

झापाका शक्ति केन्द्र मानिँदै आएका देवेन्द्र दाहाललाई समेत बाइपास गर्दै केन्द्रीय सदस्य दीपक कार्कीको योजनाअनुसार अध्यक्ष ओलीले उक्त नाममा सहमति गर्न जिल्ला नेताहरूलाई निर्देशन दिएका छन् । ती नाममा कार्यकर्ता तहमा चरम असन्तुष्टि रहेको स्वयं एमाले नेताहरूले बताएका छन् ।

एमालेका नेता देवेन्द्र दाहालले समेत कार्कीको योजनालाई रोक्न नसकेको चर्चा छ । एमाले झापाका सचिव ढुंगेललाई कार्कीविरुद्ध वर्षौँदेखि प्रयोग गर्दै आएका दाहाल अध्यक्षमा गिरीलाई नै स्वीकार गर्ने ठाउँमा पुगेको स्रोतको दाबी छ । दाहाल र कार्की समूह जिल्लाको शक्ति संघर्षमा वर्षौँदेखि विभाजित थिए ।

तर, वर्षौँदेखि साथ दिएका नेताहरूलाई छोडेर दाहाल पनि कार्कीसँग मिल्न पुगेको एमाले झापाका एक नेताले बताए ।

अध्यक्ष ओलीको निर्देशनअनुसार गिरीलाई अध्यक्ष बनाउने सहमति भइसकेको दाबी गरिएको छ । जिल्लामा सहमति भइसकेको विषयमा आफूहरूलाई जानकारी नभएको गिरीइतर पक्षमा उभिएका नेताहरूले बताउने गरेका छन् ।

कार्कीविरुद्ध उभिएका दाहाल पक्षीय दर्जनौँ नेताहरू कार्की क्याम्पमा पुगेका छन् । जिल्लाको शक्ति संघर्षमा दाहाललाई कमजोर बनाउन सफल कार्की समूहको विरुद्ध निर्वाचनमा जान सक्ने सम्भावना प्रवल बनेको बुझिएको छ ।

बहुमत प्रतिनिधिहरू ढुंगेलको पक्षमा मतदान गर्न तयार रहेको गिरी इतर पक्षको दाबी छ। गिरी पक्ष निर्वाचनमा जान नहुनेमा जोडबल गरिरहेको छ ।

झापा एमालेको शक्ति संघर्षमा प्रेम गिरी र शिव ढुंगेल दुवै जना देवेन्द्र दाहाल पक्षीय नेता मानिन्छन् । दाहाल ढुंगेललाई पाखा लगाएर गिरीलाई कार्कीको बलमा अध्यक्ष बनाउने रणनीतिमा रहेको बुझिएको छ ।

भर्खरै केन्द्रीय सदस्यमा मनोनीत कार्की त्यसअघिसम्म जिल्ला अध्यक्ष दोहोर्‍याउने तयारीमा थिए ।

कार्की अध्यक्षमा दोहोर्‍याउने चर्चा हुँदा गिरी अध्यक्षका आकांक्षी समेत नभएको स्रोतको दाबी छ । कार्की आफू केन्द्रीय सदस्यमा मनोनित भएपछि अध्यक्षमा गिरीलाई अघि सारेको बुझिएको छ। निर्वाचनमा जाने मुडमा रहेको गिरी इतर समूह चुनाव जित्नेमा विश्वस्त छ।

ढुंगेल विद्यार्थी राजनीति र युवा भएकाले पनि चुनावमा बढी प्रतिनिधिको मत पाउनेमा ढुक्क रहेको छ। तर, अध्यक्ष ओलीको निर्देशन विपरीत जान निक्कै सकस भएको बुझिएको छ।

गिरीलाई सर्वसम्मत अध्यक्ष बनाउन गाह्रो भएपछि ११ बजे उद्धघाटन गर्ने भनिएको अधिवेशन ढिलो गरी उद्धघाटन गर्ने योजनामा गिरी पक्ष रहेको बुझिएको छ।

गिरीलाई सर्वसम्मत अध्यक्ष बनाउन थप गाह्रो भए अधिवेशन उद्धघाटन गरेर केही दिन पछि धकेल्ने मानसिकतामा गिरी पक्ष रहेको इतर पक्षले जिकिर गरेको छ।

ढुंगेललाई प्रदेश कमिटीमा लगेर मनाउने तयारी भइरहेको छ। तर, ढुंगेलले पहिलादेखी नै त्यो कुरा इन्कार गर्दै आएका छन् ।