डेढ अर्ब घुस खाएका फुटबल संघका पूर्वप्रमुखलाई आजीवन जेल

डेढ अर्ब घुस खाएका फुटबल संघका पूर्वप्रमुखलाई आजीवन जेल

काठमाडाैं । 

चीनको फुटबल सङ्घ सीएफएका पूर्वप्रमुख चेन शुयुआनलाई घुस लिएको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

उनले ८ करोड युआन (झन्डै डेढ अर्ब नेपाली रुपैयाँ) घुस लिएको गत ज्यानुअरीमा स्वीकार गरेका थिए।

चिनियाँ राष्ट्रपति सी जिन्पिङको भ्रष्टाचारविरुद्धको अभियानले खेलकुद, ब्याङ्किङ र सैन्य क्षेत्रमा भएका भ्रष्टाचारमा कारबाही अघि बढाएको छ।

फुटबल क्षेत्रमा मात्रै एक दर्जनजना भन्दा बढी प्रशिक्षक र खेलाडी अनुसन्धानको घेरामा परेका छन्।

मध्यचीनको ह्वाङ्शी प्रान्तस्थित एउटा अदालतमा चलेको मुद्दाका क्रममा चेनले सन् २०१० देखि २०२३ को अवधिमा भ्रष्टाचार गरेको खुलासा भएको थियो।

त्यसअघि शाङ्घाई इन्टरन्याश्नल पोर्ट ग्रूपको अध्यक्ष हुँदा पनि उनी अवैध गतिविधिमा संलग्न भएको प्रमाणित भएको थियो।

अभियोजनकर्ताहरूले विभिन्न परियोजनाको सम्झौता दिलाउन र खेलकुदका कार्यक्रमको व्यवस्थापन गर्ने जिम्मा दिएबापत चेनले रकम र बहुमूल्य सामग्री लिएको बताएका छन्।

अदालतले उनले चीनको फुटबललाई “ठूलो क्षति” पुर्‍याएको ठहर गरेको चिनियाँ सरकारी समाचारसंस्था शिन्ह्वाले जनाएको छ।

सरकारी सञ्चारमाध्यमका अनुसार अन्य तीन वरिष्ठ अधिकारी पनि भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन्।

अदालतले मङ्गलवार फैसला सुनाउँदै आठदेखि १४ वर्षको सजाय दिएको छ।