सामूहिक बलात्कार मुद्दामा फुटबलर रोबिन्होलाई ९ वर्ष जेल

सामूहिक बलात्कार मुद्दामा फुटबलर रोबिन्होलाई ९ वर्ष जेल

काठमाडौं ।

ब्राजिलका पूर्व फुटबलर रोबिन्होलाई बलात्कार अभियोगमा ब्राजिलको अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ ।

सन् २०१३ मा २२ वर्षीया अल्बानियाई महिलालाई इटलीमा सामूहिक बलात्कार गरेको अभियोगमा उनलाई अदालतले दोषी ठहर गरेको हो ।

यसअघि सन् २०१७ मा इटलीको अदालतले पनि उनलाई दोषी ठहर गर्दै ९ वर्षकै जेल सजायँ सुनाएको थियो । त्यतिबेला उनी एसी मिलानका लागि खेल्दथे ।

इटलीको अदालतले सजायँ सुनाउनु अघि नै उनी ब्राजिल फर्किसकेका थिए । त्यसपछि इटलीले ब्राजिललाई रोबिन्होविरुद्ध एक्सन लिन भनेको थियो ।

स्काई न्यूजको रिपोर्ट अनुसार इटलीको अनुरोधपछि ब्राजिलको एक अदालतले उनीमाथि ९ वर्षको जेल सजायँ सुनाएको हो । उनले ब्राजिलमै जेल सजायँ काट्नुपर्ने फैसला अदालतले गरेको स्काई न्यूजमा उल्लेख छ ।

रोबिन्होलाई जेल सजायँ हुने कि नहुने भन्ने विषयमा ब्राजिलको सुपेरियर कोर्ट अफ जस्टिसका न्यायाधीशबीच मत विभाजन गरिएको थियो । कूल १० भोटमध्ये जेल सजायँ हुनुपर्छ भन्ने पक्षमा ८ भोट र विपक्षमा २ भोट परेको थियो ।

रोबिन्होका वकिल जोस एडुआर्डो एल्कमिनले यो फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्ने बताएका छन् ।

रोबिन्होले ब्राजिलबाट १०० पटक अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनी चार वर्षसम्म रियल मड्रिडमा रहँदा रियलले दुई पटक ला लिगा च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यसपछि सन् २००८ मा ३२.५ मिलियन युरोमा उनी म्यानचेस्टर सिटीमा गएका थिए ।