दुर्घटनामा मालपोत अधिकृतको मृत्यु

दुर्घटनामा मालपोत अधिकृतको मृत्यु

लुम्बिनी ।

मालपोत कार्यालय, मझगावामा कार्यरत मालपोत अधिकृत ४२ वर्षीय तिलकबहादुर रावतको दुर्घटनामा परी मृत्यु भएको छ । आइतबार राति पौने ९ बजेतिर भएकाे दुर्घटनामा उनको मृत्यु भएको हो ।

भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको बा २१ च ७५५३ नम्बरको कारले विपरीत दिशाको प्रदेश ३–०२–००१ ब ४८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रावतको मृत्यु भएको हो ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य गेटअगाडि भएको दुर्घटनाका कार चालक लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ३ बस्ने ५३ वर्षीय अलाउद्दिन मुसलमान प्रहरी नियन्त्रणमा रहेको ट्राफिक प्रहरी निरीक्षक वजिर सिंह बिष्टले जानकारी दिए ।

दुर्घटनाबाट घाइते भएका मालपोत अधिकृत रावतलाई नजिकैको सिद्धार्थनगर सिटी अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भइसकेको चिकित्सकलाई उद्धृत गर्दै जिल्ला ट्राफिक प्रहरी प्रमुख तथा ट्राफिक प्रहरी निरीक्षक विष्टले जानकारी दिए ।

लुम्बिनीतर्फबाट भैरहवा पुग्न गल्लामण्डी छोटो बाटो हो । त्यही बाटो प्रयोग गर्न सवारी चालकले कहिलेकाहीँ गलत साइडबाट सवारी हाँक्ने गरेको देखिन्छ । सोमबार भएको दुर्घटना पनि छिटो पुग्न गलत बाटो प्रयोग भएको कारण हुन सक्ने ट्राफिक प्रहरीको प्रारम्भिक अनुमान छ ।