नर्स हत्या प्रकरण: प्रेमि शिवशंकर पनि मृत भेटिए

नर्स हत्या प्रकरण: प्रेमि शिवशंकर पनि मृत भेटिए

विराटनगर ।

गत शुक्रबार मृत फेला परेकी स्टाफ नर्सको हत्यामा संलग्न रहेको आशङ्का गरेका युवा पनि मृत फेला परेका छन् ।

विराटनगरका शिवशंकर दास विराटनगरको फाइन होटलमा मृत फेला परेको मोरङ प्रहरीले जनाएको छ।

उनी होटलको रुममा झुन्डिएको अवस्थामा फेला परेको मोरङका प्रहरी प्रमुख नवराज कार्कीले बताए । गत शुक्रबार विराटनगर महानगरपालिका– ४ मा डेरा बस्दै आएकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको थियो ।

सिराहाको फुल्काहकट्टी घर भएकी दास विराटनगर- ४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन् । डेरा बसेको घरको कोठाभित्रको शौचालयमा दिउँसो १२ बजेतिर शव फेला परेको थियो । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ ।

उनको हत्यापछि शव छाडेर संलग्न व्यक्ति फरार भएको र संलग्न व्यक्तिको खोजी जारी रहेको प्रहरीले बताउँदै आएको थियो । प्रहरीले दासको प्रेमी रहेका शिव शङ्करले नै हत्या गरेको हुनसक्ने आशङ्का गरेको थियो । उनले प्रेमिकाको हत्यापछि आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

शिवशंकरले आत्महत्या गरेको होटल नर्स चन्द्रिका कुमारीको हत्या भएको कोठादेखि करिब ३ सय मिटर पूर्व दक्षिणमा पर्दछ । शिवशंकर र चन्द्रिकाकुमारी चार वर्षदेखि प्रेमसम्बन्धमा थिए । शिवशंकर वैदेशिक रोजगारीमा मलेसिया गएका थिए ।

उनी वैदेशिक रोजगारमा गएपछि यता चन्द्रिका कुमारीको सिएमए सिराहाका अमिन धानुकसँग प्रेम सम्बन्ध बसेको थियो । चन्द्रिकाकुमारीले प्रेममा धोका दिने भएपछि हत्या गरेको प्रहरीले जनाएको छ ।

शिवशंकर २७ फागुनमा मलेसियाबाट काठमाडौँ फर्किएका थिए । उनी २९ फागुनमा विराटनगर आएको देखिन्छ । विराटनगर आएपछि उनी प्रेमी चन्द्रिकाकुमारीको डेरामा बसेको प्रहरीले जनाएको छ ।
प्रेममा उत्पन्न खटपटपछि बिहीबार दिउँसो हत्या भएको प्रहरीले जनाएको छ । हत्यामा किचनमा प्रयोग हुने कटर प्रयोग भएको छ ।

उक्त कटर प्रहरीले बरामद गरेको छ ।