हतकडीसहित भागेको कैदी पक्राउ गर्न गएका प्रहरी जवानको मृत्यु

हतकडीसहित भागेको कैदी पक्राउ गर्न गएका प्रहरी जवानको मृत्यु

धनगढी ।

दार्चुलामा फरार थुनुवा पक्राउ गर्न जाँदा भीरबाट लडेर एक प्रहरी जवानको मृत्यु भएको छ ।

पक्राउ परेका महाकाली नगरपालिकाका २३ वर्षका उमेश सिंह कुँवर भागेपछि पक्राउ गर्न गएका प्रहरी जवान सोहन चौधरीको भीरबाट लडेर मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका एसएसपी प्रज्वल महर्जनका अनुसार भीरबाट लडेर गम्भीर घाइते भएका कैलालीको कैलारी गाउँपालिकाका चौधरीको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । चौधरीको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ ।

जबर्जस्तीकरणी र ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धानका लागि प्रहरीले कुँवरलाई २१ फागुनमा पक्राउ गरेको थियो ।

थुनुवा कक्षबाट भागेका कुँवर महाकाली नदीमा पौडी खेलेर भारततिर पुगेका थिए । कुँवरलाई नदी किनारमा रहेका भारतीय गोरखा रेजिमेन्ट (जीआर) को सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।