युनिक एन्ड युनाइटेड पब्लिक एकेडेमीले गर्याे अभिभावक,शिक्षकशिक्षिका र कर्मचारीलाई सम्मान

युनिक एन्ड युनाइटेड पब्लिक एकेडेमीले गर्याे अभिभावक,शिक्षकशिक्षिका र कर्मचारीलाई सम्मान

भोजपुर ।
२०६४ सालमा स्थापना भएको भोजपुरको युनिक एन्ड युनाइटेड पब्लिक एकेडेमीले अभिभावकसहित शिक्षकशिक्षिका र कर्मचारीलाई सम्मान गरेको छ ।

१६औँ वार्षिकोत्सव तथा अभिभावक भेलाका अवसरमा एकेडेमीले विद्यालयमा महत्वपूर्ण सहयोग गर्ने १५ अभिभावक, ३० जना शिक्षकशिक्षिका र १३ जना कर्मचारीलाई सम्मान गरेको हो ।

स्थापनादेखि नै निरन्तर कार्यरत शिक्षिका कमला तामाङ र कर्मचारी सुस्मा राईलाई नगद ५ हजार र सम्मानपत्र प्रदान गरिएको थियो ।

एकेडेमीले गत २४ गतेबाट सुरु गरेको वार्षिकोत्सव तथा अभिभावक भेला लगायत विभिन्न कार्यक्रमसहित सम्पन्न भएको हो । कार्यक्रममा अभिभावकको नृत्य, डोरी तान्ने खेल, म्याराथन दौड, कक्षागत रूपमा सञ्चालित खेलकुद गतिविधिमा उत्कृष्ट हुने टिमहरूलाई मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो ।

एकेडेमीका अध्यक्ष भरत खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रममा सम्मानित तथा विजेताहरूलाई भोजपुर बहुमुखी क्याम्पसका प्रमुख भुलानाथ राई, प्याब्सनका जिल्ला अध्यक्ष रमेश आले, भोजपुर नगरपालिका–८ का वडाध्यक्ष नवीन प्रधान, भोजपुरका वरिष्ठ पत्रकार निरोज कोइराला, यशोधरा माविका सहायक प्रधानाध्यापक विष्णुकुमार राई, अक्षयकोष दाता बृखबहादुर तामाङ, संस्थापक सदस्यहरू डम्बरकुमार श्रेष्ठ, धर्मराज राईलगायतले पुरस्कार वितरण गरे ।

वार्षिकोत्सव मूल समारोह कार्यक्रममा बोल्ने वक्ताहरूले एकेडेमीले शैक्षिक क्षेत्रमा गरेको योगदानको चर्चा गरे । कार्यक्रमका प्रमुख अतिथि भुलानाथ राईले गुणस्तरीय शिक्षका लागि एकेडेमीले महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको बताउँदै शैक्षिक सुधारमा विद्यालय र अभिभावक सँगै हिँड्न आवश्यक रहेको बताए ।

जनमुखी शिक्षा नीति सरकारले बनाउन नसकेको भन्दै प्रमुख राईले पहाडी क्षेत्रमा शिक्षकको अभाव हुने अवस्था देखिने गरेकाले निजी विद्यालयहरूले पनि आफ्नै तालिम केन्द्र स्थापना गरेर शिक्षक छनोट गर्न सकेमा सहज हुने बताए ।

प्याब्सन अध्यक्ष रमेश आलेले विद्यालयको शैक्षिक सुधार शिक्षक कर्मचारीबाट मात्र नहुने भएकाले अभिभावकले पनि त्यसका लागि सहयोग गर्न आवश्यक रहेको बताए । अन्य सहभागी अतिथि वक्ताहरूले शिक्षा क्षेत्रको विकास आवश्यक रहेको बताउँदै एकेडेमीलाई विशिष्टीकृत शैक्षिक संस्थाका रूपमा विकास गर्दै बिद्यार्थीहरूलाई गुणस्तरीय, सीपमूलक र व्यावहारिक शिक्षा प्रदान गर्नुपर्ने धारणा राखे ।

शैक्षिक तथा भौतिक अवस्थाका बारेमा प्रतिवेदन प्रस्तुत गर्दै एकेडेमीका प्रिन्सिपल मनोज तामाङले २०६५ सालदेखि पठनपाठन सुरु भएको विद्यालयमा हाल नर्सरीदेखि १० कक्षासम्म ६०६ जना बिद्यार्थी अध्यनरत रहेको बताए । यातायातको पहुँचसँगै विद्यालयमा दुइवटा बसको व्यवस्था गरिएको, कम्पाउन्डसहित आफ्नै भवनमा पठनपाठन भइरहेको तामाङले जानकारी दिए ।