सुन तस्करी प्रकरण : चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिने अधिकृत पक्राउ

सुन तस्करी प्रकरण : चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिने अधिकृत पक्राउ

हेटौंडा ।

सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् ।

हेटौंडा–१०, स्थित बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैठौं तहमा कार्यरत् रामचन्द्र अर्याललाई प्रहरीले पक्राउ गरेको हो । यसअघि यातायात कार्यालय काठमाडौं, ठूलो भर्याङबाट सरुवा भएर अर्याल बागमती प्रदेशसभा सचिवालयमा आएका थिए ।

काभ्रे प्रहरीको अनुरोधमा अर्याललाई बुधवार प्रदेशसभा सचिवालयबाटै पक्राउ गरी मकवानपुर प्रहरीले जिम्मा लगाइएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । ‘नागरिकता सम्बन्धी मुद्दामा अर्याललाई पक्राउ गरी काभ्रे प्रहरीको जिम्मा लगाएको छ,’ उनले भने ।

अर्यालमाथि काभ्रे जिल्ला प्रशासनमा रहँदा सुन तस्करीमा संलग्न विदेशीलाई नेपाली नागरिकता दिलाउन सहयोग पुर्याएको आरोप छ ।

अर्यालसहितका कर्मचारीमार्फत काभ्रे प्रशासनले सुन तस्करलाई वंशजका आधारमा नागरिकता दिइएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । चिनियाँ नागरिकलाई नागरिकता दिलाउँदा अर्याल नासु थिए ।