राष्ट्रियसभा अध्यक्ष माओवादीलाई, ४ दलबीच ८ बुँदे सहमति

राष्ट्रियसभा अध्यक्ष माओवादीलाई, ४ दलबीच ८ बुँदे सहमति

काठमाडाैँ ।

नयाँ सत्ता समीकरण बनाएका ४ दलबीच ८ बुँदे लिखित सहमति भएको छ । नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच ८ बुँदे सहमति भएको हो ।

४ वटै दलका अध्यक्ष÷सभापतिले हस्ताक्षर गरेको सहमतिमा राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई अझ प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीच सहकार्य आवश्यक रहेको महसुस गरी ४ दलको संयुक्त सरकार गठन गर्ने निष्कर्षमा पुगेको उल्लेख छ ।

रिक्त रहेको राष्ट्रियसभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने ४ दलबीच सहमति भएको छ भने सरकारमा सहभागी दलहरूबीच आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने, मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने सहमति पनि भएको छ ।

यस्तै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुंग्याउने उल्लेख छ ।

यसैगरी संघीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउन दलहरू सहमत भएका छन् ।

सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बीचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने, सहमतिअनुसार नयाँ संयुक्त सरकार गठन गर्ने तथा राजनीतिक स्थायित्वको दिशामा अघि बढ्ने पनि सहमति भएको छ ।