सेनाले बनाएको शौचालय भवन हस्तान्तरण

सेनाले बनाएको शौचालय भवन हस्तान्तरण

निरोज कोइराला

भोजपुर ।

नेपाली सेनाको सक्रियतामा भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्वर ३ दिल्पामा रहेको अन्नपूर्ण बागधन रणदीपा माध्यामिक बिद्यालयमा पाँच कोठे शौचालय भवन निर्माण भएको छ ।

भोजपुर सदरमुकाममा रहेको नेपाली सेनाको श्रीनयाँ श्रीनाथ गणले शीर्घ प्रवाह आयोजना मार्फत करिव १० लाखको लागतमा बिद्यालयमा शौचालय भवन निर्माण गरेको हो ।

शौचालय भवनको नेपाली सेनाको पूर्वी पृतना सैनिक मुख्यालय इटहरीका पृतनापति उपरथी आश बहादुर तामाङ (पिएचडी) ले उदघाटन गर्नु भएसँगै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रविकुमार राई र सहायक प्रधानाध्यापक रणबिर साहलाई हस्तान्तरण गरिएको छ ।

बिद्यालयमा बनेको शौचालय भवन नेपाली सेनाले आइतवार औपचारिक कार्यक्रम सहित हस्तान्तरण गरेको हो । महिलाका लागि ३ कोठा र पुरुष २ कोठा गरी नौ लाख ९७ हजार पाँच सय ८६ रुपैया बरावरको लागतमा पाँच कोठाको शौचालय भवनको निर्माण कार्य भएको गणका गणपति प्रमुख सेनानी फणिन्द्र थापाले बताए ।

सेनाले गत मंसिर १० गतेबाट शौचालय भवनको निर्माण कार्य सुरु गरेको थियो । बिद्यालयमा अध्ययरत बिद्यार्थीका साथै शिक्षक शिक्षिकाहरुका लागि शौचालय निर्माण गरिएको गणपति थापाले बताए ।

नेपाली सेनाको सहयोगले बिद्यालयमा अध्ययरत बिद्यार्थीहरुलाई सेवा मिलेको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रवि कुमार राईले बताए । सोक्रममा बिद्यालयमा अध्ययरत पाँच कक्षासम्मका बिद्यार्थीहरुलाई सेनाको तर्फबाट पृतनापति उपरथी तामाङले शैक्षिक र खेलकुदका सामाग्रीहरु बितरण गरेका थिए ।

बिद्यालयका तर्फबाट सहयोगको लागि सेनालाई कदरपत्र समेत प्रदान गरिएको थियो । बिद्यालयमा हाल करिव अढाई सय बिद्यार्थी अध्ययरत रहेका छन ।