नामिबियामाथि नेपालकाे सानदार जित,फाइनल पुग्ने संभावना कायम

नामिबियामाथि नेपालकाे सानदार जित,फाइनल पुग्ने संभावना कायम

काठमाडौं ।

त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले नामिबियामाथि सानदार जित हात पारेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले नामिबियालाई ३ रनले हराएकाे हाे ।

नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेटको क्षतिमा १७७ रन जोड्यो।

नामिबियालाई हराउँदै नेपालले फाइनल पुग्ने संभावना कायम राखेको छ ।

अन्तिम ओभरमा नामिबियाका लागि जितका लागि १२ रन आवश्यक रहेकोमा करण केसीले शानदार बलिङ गर्दै एक विकेट लिएर ८ रन मात्र दिदै नेपाललाई जित दिलाएका थिए ।

नामिबियाका लागि जेजे स्मिथले सर्बाधिक ५० रन बनाएका थिए भने जान फ्राइलिंकले ३७, जान ग्रीनले २१, जेपी कोट्जेले २५ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर करण केसी, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट लिएका थिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए ।

यसअघि नामिबियाविरुद्धको खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १८० रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेलेका थिए । कुशलले ५५ रन बनाएका थिए । त्यस्तै आरिफ सेखले महत्वपूर्ण ३१ रन बनाएका थिए भने गुलशन झाले २६, अनिल शाहले २३, दिपेन्द्र सिंह ऐरीले १६, कप्तान रोहित पौडेलले १०, कारण केसीले ७ रन बनाएका थिए ।

त्यसैगरी नामिबियाका बेन शिन्कोंगोले सर्बाधिक ३ विकेट लिएका थिए भने ज्याक ब्रासेलले २ तथा जान निकोल इटन, रुबेन ट्रम्पेलम्यान र बेर्नार्ड स्कोल्जले एक एक विकेट लिएका थिए ।

यो नेपालको यस सिरिजमा पहिलो जित हो । यो जितपछि नेपालको ३ खेलमा २ अंक रहेको छ । त्यस्तै नामिबियाको भने ३ खेलमा ४ अंक रहेको छ ।

अब शनिबार नेपालले नेदरल्यान्ड्सलाई पराजित गरे वा नामिबियामाथि नेदरल्यान्ड्सले आइतबार जित निकाले नेपाल फाइनलमा स्थान बनाउनेछ। फाइनल मंगलबार हुनेछ।