सनातन हिन्दूराष्ट्रको पक्षमा निर्णय लिन कांग्रेसका २२ केन्द्रीय सदस्यले बुझाए हस्ताक्षर

सनातन हिन्दूराष्ट्रको पक्षमा निर्णय लिन कांग्रेसका २२ केन्द्रीय सदस्यले बुझाए हस्ताक्षर

काठमाडौं ।

नेपाली कांग्रेसमा सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा निर्णय लिन भन्दै २२ जना केन्द्रीय सदस्यले नेतृत्वलाई हस्ताक्षर संकलन गरी बुझाएका छन् ।

महासमिति बैठकको पूर्वसन्ध्यामा जारी केन्द्रीय समिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवालाई उनीहरूले हस्ताक्षर संकलन गरी बुझाएका हुन् ।

शंकर भण्डारीको नेतृत्वमा सदस्यहरूले बुझाएको पूरक प्रस्तावमा बहुमत महासमिति सदस्यको भावना र आम नेपाली जनताको व्यापक चासो र चिन्ताको विषयलाई छलफलमा नल्याइएकोमा चिन्ता व्यक्त गरिएको छ ।

पूरक प्रस्ताव पेश गर्नेहरूमा शंकर भण्डारी, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली ‘स्नेही’, शुक्रराज शर्मा, इन्द्रबहादुर बानियाँ, दीलेन्द्रप्रसाद बडू, रंगमती शाही, विद्या तिमिल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजङ्गबहादुर सिंह, सीताकुमारी राना, पुष्पा भुसाल, शारदा पौडेल, चम्पादेवी खड्का, नागिना यादव, नृपबहादुर वड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला, मुक्ताकुमारी यादव, डा. डिला संग्रौलालगायत छन् ।

९४ प्रतिशतभन्दा बढी वैदिक सनातन हिन्दूधर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पूरै उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरू, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी नेपाली कांग्रेस धर्म निरपेक्षताको पक्षमा उभिएको विषयप्रति गम्भीर बनेकोमा यसअघि पनि महासमिति सदस्यहरूले वैदिक सनातन हिन्दूराष्ट्र राष्ट्र नेपाल कायम गर्न ध्यानाकर्षण गराएको स्मरण गराइएको छ ।