नेकपा एमालेले २ केन्द्रीय सदस्यलाई गर्याे बर्खास्त

नेकपा एमालेले २ केन्द्रीय सदस्यलाई गर्याे बर्खास्त

काठमाडौं ।

नेकपा एमालेले दुई केन्द्रीय सदस्यहरु ऐन महर र सिराज अहमद फारुकीलाई बर्खास्त गरेको छ ।

यौन विचलनमा परेको अडियो सार्वजनिक भएकाले ऐन महरलाई बर्खास्त गरिएको हो । केही महिनाअघि एक विवाहित महिलासँग यौनकाण्डमा संलग्न भएको महरको अडियो सार्वजनिक भएको थियो ।

केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले महर र फारुकीलाई बर्खास्त गरेको हो । तर प्रचार विभागले जारी गरेको सूचनामा भने एमालेले राजीनामा स्वीकृत गरेको भनेको छ ।

बर्खास्त भनेर निर्णय सार्वजनिक गर्दा त्यसको कारण खुलाउनुपर्ने भएकाले राजीनामा स्वीकृत भनेर लेखिएको पार्टीका एक नेताले बताए । एमाले स्रोतका अनुसार, अहिले दुई जनालाई बर्खास्त गरिएको र पार्टीको अनुशासनमा नबस्ने अरु नेताहरुबारे पनि छलफल चलिरहेको छ ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको बक्तव्यमा ‘बैठकले दुई जना केन्द्रीय कमिटीका सदस्यहरु अहमद फारुकी र ऐन महरको राजीनामा स्वीकृत गरेको छ’ उल्लेख छ ।

आर्थिक बिचलनको प्रमाणहरु भेटिएकाले फारुकीलाई बर्खास्त गरिएको हो ।