नेपाल एयरलाइन्सले सिमकोट-सुर्खेत रुटमा परीक्षण उडान गर्ने

नेपाल एयरलाइन्सले सिमकोट-सुर्खेत रुटमा परीक्षण उडान गर्ने

काठमाडौँ ।

नेपाल एयरलाइन्सले यही फागुन ७ गते सिमकोट-सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ।

यसअघि नेपालगन्ज-सिमकोट–नेपालगन्ज रुटमा उडान गर्दै आएको एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने गरी सिमकोटबाट परीक्षण उडान गर्ने भएको नेपाल एयरलाइन्स सिमकोट स्टेसनका प्रमुख छिरिङ लामाले जानकारी दिए। यसका लागि सबै तयारी पूरा भएको उनको भनाइ छ।

नेपाल एयरलाइन्सको जहाजले नेपालगन्ज-सिमकोटमा उडान गरेपछि सोही दिन सिमकोट–सुर्खेत परीक्षण उडान हुनेछ,’ उनले भने, ‘त्यसपछि सुर्खेत-सिमकोटका लागि यात्रुसहितको उडान भर्ने तालिकाको तयारी भइरहेको छ।’ यद्यपि, अझै भाडा कति निर्धारण भने भइसकेको छैन।

सिमकोट–सुर्खेत हवाई उडान हुने भएपछि हुम्लावासीलाई सहज हुने भएको स्थानीय गोर्ख रोकायाले बताए। ‘सिमकोट-सुर्खेत उडान सुरु भएपछि हुम्लाबाट नेपालगन्ज र नेपालगन्जबाट सुर्खेत जानुपर्ने बाध्यता हट्नेछ,’ उनले भने।

सिमकोटबाट नेपालगन्ज जान जहाजमा ४५ मिनेट लाग्छ भने नेपालगन्जबाट सुर्खेत पुग्न चार घन्टा लाग्छ। अब सीधै प्रदेश राजधानी सुर्खेत पुग्न नियमित उडान भए ३५ मिनेट पुग्न सकिने रोकायाको भनाइ छ।