कर्मचारीको मिलेमतोमा नक्कली लाइसेन्स बनाएकाे पुष्टि,सीआईबीले थाल्याे अनुसन्धान

कर्मचारीको मिलेमतोमा नक्कली लाइसेन्स बनाएकाे पुष्टि,सीआईबीले थाल्याे अनुसन्धान

काठमाडौं ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको अनुसन्धान थालेको छ । यातायात व्यवस्था विभागले पत्राचार गरेपछि सीआईबीले अनुसन्धान थालेको हो ।

सीआईबी स्रोतका अनुसार डीएसपीको नेतृत्वमा छुट्टै टिम बनाएर अनुसन्धान अघि बढाएको छ ।

यसअघि लाइसेन्स घोटला प्रकरणमा यातायात व्यवस्था विभाग आफैँले गरेको आन्तरिक छानबिनका क्रममा ६ किसिमका शंकास्पद लाइसेन्स फेला पारेको थियो ।

विभागकै कर्मचारीको मिलेमतोमा इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेहीकल रजिस्ट्रेसन सिस्टम (ईडीएलभीआरएस)मा चलखेल र नक्कली लाइसेन्स बनाएको खुलेको हो ।

विभागको छानबिनका क्रममा एक लाख दुई हजार लाइसेन्स नक्कली रहेको भेटिएको छ । जसमध्ये करिब ७३ हजार ५०० वटा वितरण भइसकेको खुलेको थियो ।

छानबिनका लागि विभागले प्रविधि निर्देशक मुकेश रेग्मीको नेतृत्वमा शाखा अधिकृत अर्जुन अधिकारी, डाटा एडमिनिस्ट्रेटर सविन श्रेष्ठ तथा सीआईबीका डीएसपी तपनकुमार दाहाल र कम्प्युटर इन्जिनियर बोधराज बराल सदस्य रहेको समिति बनाएको थियो ।

सोही समितिले विभागका १० जना पूर्वमहानिर्देशकका पालामा उक्त घोटाला भएको देखाएको हो । नक्कली लाइसेन्स प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छुट्टै अनुसन्धान गरिरहेको छ ।