मझुवागढी नगरपालिकाले ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ आयोजना गर्ने

मझुवागढी नगरपालिकाले ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ आयोजना गर्ने

खाेटाङ ।
खाेटाङकाे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘नगरको शान, दिक्तेलको स्वाभिमान, मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला संस्कृतिको सम्मान’ भन्ने मूल नाराका साथ ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ आयोजना गर्ने भएको छ ।

नेपाल कला परिषद बबरमहलमा यही फागुन ५ गतेदेखि १७ गतेसम्म आयोजना गरिने प्रदर्शनी राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने तय भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले बताए ।

प्रदर्शनीमा ५० देशका चित्रकारले बनाएका १७० भन्दा बढी चित्र राखिनेछन् । जसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालगायत खोटाङ जिल्लाका समग्र सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्र झल्किने आयोजकको विश्वास छ ।

गत असोज १७ देखि २१ गते १९ जना विदेशी र २४ जना स्वदेशी गरी ४३ जना चित्रकारको सहभागितामा जिल्लाका विभिन्न क्षेत्रको अवलोकन भ्रमण गराई स्थानीय स्तरका सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि १०९ वटा जीवन्त चित्र समेत कोरिएको थियो ।

उक्त प्रदर्शनीको अवसरमा राई, नेवार, गुरुङ, क्षेत्री बाहुनलगायत जातजातिका सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिने नगर प्रमुख भट्टराईले बताए ।

प्रदर्शनीको अवधिमा पूर्वप्रधानमन्त्रीहरू, विभिन्न राजनीतिक दलका सम्मानित नेताहरू, कूटनीतिक नियोगका अधिकारीहरू, उद्योगी–व्यवसायी, लेखकलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने बताइएकाे छ।