२ वर्षमा पनि ३९ किलोमिटर सडक कालोपत्र भएन

२ वर्षमा पनि ३९ किलोमिटर सडक कालोपत्र भएन

सङ्खुवासभा ।

सङ्खुवासभामा निर्माणाधीन उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी-नुम सडकखण्डको कालोपत्र गर्ने कामले गति लिन सकेको छैन ।

खाँदबारीको लभिङहिलबाट नुमसम्म ३९ किलोमिटर सडकको कालोपत्रको ठेक्का लागे पनि ठेकेदारले समयमा काम नगर्दा यात्रुले सास्ती खेप्नुपरेको छ । उत्तर-दक्षिण कोशी सडक आयोजनाले अनुसार किमाथाङ्का-रानी सडकको सो खण्डमा ठेक्का लागेको दुई वर्षमा २८ प्रतिशतमात्र काम सम्पन्न भएको जनाएको छ ।

उनन्चालीस किलोमिटर कालोपत्रका लागि तीन खण्डमा ठेक्का आह्वान गरे पनि एउटै निर्माण कम्पनीको ठेक्का स्वीकृत भएको थियो । तीन खण्डमध्ये पहिलो खण्ड खाँदबारी लभिङहिल-थामसेर्कुेसम्म ३६ प्रतिशत, दोस्रो थामसेर्कुे-कप्तानेसम्मको २२ प्रतिशत र तेस्रो खण्ड कप्तानेबाट नुमसम्म २४ प्रतिशत भौतिक प्रगति भएको सडक आयोजनाका सूचना अधिकारी नरेश जिरेलले बताए ।

रु एक अर्ब २८ करोडमा कालोपत्रको जिम्मा शर्मा शिवशक्ति जेभीले पाएको थियो । कालोपत्र गर्ने भनिएको ३९ किलोमिटर सडकमा ठेकेदार कम्पनीले ठाउँ ठाउँमा ग्याबिन तारजाली लगाएर चौडा बनाउने र नाली निर्माणलगायतका सामान्य काममात्रै गरेको छ । ठेक्का सम्झौता गर्दा माइलस्टोनसम्बन्धी व्यवस्था रहेको र उक्त व्यवस्थाअनुसार ठेक्का सम्झौता १२ महिना अवधिभित्र ३० प्रतिशत ठेक्का सम्झौता रकम बराबरको वित्तीय प्रगति हासिल गर्नुपर्ने प्रावधान रहेको जनाइएको छ । सम्झौताअनुसार वित्तीय प्रगति नगरेको जनाउँदै उत्तर-दक्षिण कोशी सडक आयोजनाले दिनको रु दुई लाख ५५ हजार जरिवाना समेत सो निर्माण कम्पनीलाई तिराएको छ ।

समयसीमाअनुसार काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीसँग आयोजनाले करिब रु ७० लाख जरिवाना तिराएको सूचना अधिकारी जिरेलले बताए। खाँदबारीबाट चीनको सीमावर्ती किमाथाङ्कासम्म सडकको लम्बाइ एक सय ६२ किलोमिटर छ । उत्तर-दक्षिण कोशी योजनाले ट्रयाक खुलेको एक सय ३९ किलोमिटरमध्ये ३९ किलोमिटर सडक कालोपत्र गर्न लागेको हो । निर्माण कम्पनीले २०८१ असारसम्ममा ३९ किलोमिटर सडक कालोपत्र गरिसक्नुपर्ने सम्झौता भए पनि हालसम्मको प्रगति हेर्दा समयमा काम नसकिने देखिन्छ ।