सिरानीले मुख छाेपेर छाेराछाेरीकाे हत्यापछि छतबाट हामफालेर आत्महत्या

सिरानीले मुख छाेपेर छाेराछाेरीकाे हत्यापछि छतबाट हामफालेर आत्महत्या

काठमाडाैँ ।

ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलमा शनिबार भएकाे घटनामा आफ्ना २ सन्तानको हत्या गरेर महिलाले आत्महत्या गरेको निष्कर्ष प्रहरीले निकालेको छ ।​​

महालक्ष्मी नगरपालिका–४, ओचुहाइटकी रविनाले घरको साढे २ तलामाथिबाट हाम फालेकी थिइन् ।

हाम फालेर गम्भीर घाइते भएकी उनलाई स्थानीय र प्रहरीले उपचारका निम्ति तत्काल इमाडोलस्थित किस्ट मेडिकल कलेजमा पुर्‍याएका थिए । शनिबार अपराह्न करिब साढे ४ बजे उनले छतबाट हाम फालेकी थिइन् ।

पौने ५ बजे सो अस्पतालमा पुर्‍याएर उपचारकै क्रममा राति पौने १० बजे अस्पतालले रविनाको मृत्यु भएको घोषणा गरेकाे थियाे  । उनका ६ वर्षीय छोरा अश्वेत र २ वर्षीया छोरी रिवा छुट्टाछुट्टै कोठामा अचेत अवस्थामा भेटिएका थिए । उनीहरूकाे पनि अस्पतालमै मृत्यु भएकाे हाे ।

रविना महर्जनले आफ्ना २ जना छोराछोरीको सिरानीले मुख थुनेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीले बताए ।

उनका अनुसार बच्चाहरूको शरीरमा कुनै पनि चोट पटक देखिएको थिएन ।

रविनाले हाम फाल्दा छिमेकीले देखेका थिए । रविनाकी सासू समेत छतमै हुँदा उनले एक्कासि हामफालेको पुष्टि भएकाे एसपी कार्कीले जानकारी दिए ।

घटना भएका बेला उनका पनि घरमा थिएनन् । उनका पति सार्वजनिक कार्यक्रममा ‘साउन्ड सिस्टम’ व्यवस्थापनको काम गर्ने पत्ता लागेकाे प्रहरीले जनाएकाे छ।