मुख्यमन्त्री कार्कीकाे ‘लास्ट बेन्चर’ भाषणले हंगामा, माफी नमागे आन्दाेलनकाे चेतावनी

मुख्यमन्त्री कार्कीकाे ‘लास्ट बेन्चर’ भाषणले हंगामा, माफी नमागे आन्दाेलनकाे चेतावनी

विराटनगर ।

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गरेकाे एउटा भाषणका कारण यतिबेला कर्मचारीतन्त्रमा हंगामा भएकाे छ ।

उनले राष्ट्रसेवक कर्मचारीको आत्मसम्मानमा चोट पुग्ने गरी अभिव्यक्ति दिएको भन्दै निजामती कर्मचारीका विभिन्न ४ संगठनले कार्कीले क्षमायाचना नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन कोसीका अध्यक्ष मानबहादुर बन, एमाले निकट निजामती कर्मचारी संगठन कोशीका अध्यक्ष काशीराज पराजुली, माओवादी केन्द्र निकट कर्मचारी संगठन कोशीका अध्यक्ष रुद्र सुवेदी र नेकपा एकीकृत समाजवादी निकट कर्मचारी संगठन कोशीका कार्यवाहक अध्यक्ष योगेश्वर खनालले संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कार्कीले  क्षमायाचना गर्नुपर्ने बताएका हुन्।

मुख्यमन्त्री कार्कीको अभिव्यक्तिले राष्ट्रसेवक कर्मचारीलाई दुःखी बनाएको विज्ञप्तिमा भनिएको छ, ‘सबैभन्दा ठुलो लोकतान्त्रिक दलबाट प्रदेशसभामा अत्यधिक मतसहित निर्वाचित भएर मुख्यमन्त्री बनेका कार्कीले कर्मचारीका सम्बन्धमा दिएको गैरजिम्मेवारी र आपत्तिजनक अभिव्यक्तिले समग्र राष्ट्रसेवक कर्मचारीहरूको मानमर्दन भएकोमा हामी आपत्ति व्यक्त गर्छौँ ।’

मुख्यमन्त्रीले आफ्नो अभिव्यक्ति प्रति क्षमायाचना नगरे आफूहरू संयुक्त रूपमा आन्दोलन गर्न बाध्य हुने उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘आम निजामती कर्मचारीको योग्यता र क्षमताको मानमर्दन हुने गरी व्यक्त अभिव्यक्ति प्रति घोर निन्दा र आलोचना गर्दै उत्तेजनामा आएर गरिएको अपरिपक्व अभिव्यक्ति फिर्ता लिएर राष्ट्रसेवकको मानमर्दनमा पुगेको चोटप्रति क्षमायाचना गर्न मुख्यमन्त्रीलाई आग्रह गर्छौँ ।’

गत सोमबार मोरङको सुन्दरहरैँचास्थित साजीलाल माध्यमिक विद्यालयको वार्षिकोत्सवमा आफू स्कुलमा सधैँ लास्ट बेन्चमा बसे पनि मुख्यमन्त्री भएकाे तर फर्स्ट बेन्चमा बस्ने अहिले खरिदार रहेकाे अभिव्यक्ति दिएका थिए ।

‘म कक्षामा बस्ने लास्ट बेन्चर हुँ, फर्स्ट बेन्चमा बस्नेले केवल लेख्न र पढ्न मात्र जान्यो,’ उनले भनेका थिए, ‘कसरी लोकसेवा पास गर्ने र भुँडी भर्ने मात्र जान्यो, ऊ अहिले खरिदार छ, म मुख्यमन्त्री छु ।’