मुख्यमन्त्री कार्कीले गर्दै छन् मन्त्रिपरिषद् विस्तार, यी हुन् काेसीका नयाँ मन्त्री

मुख्यमन्त्री कार्कीले गर्दै छन् मन्त्रिपरिषद् विस्तार, यी हुन् काेसीका नयाँ मन्त्री

सरकार विस्तार अघि पहिचान पक्षधरसँग सहमति

सरकार विस्तार अघि पहिचान पक्षधरसँग सहमति

विराटनगर ।

कोसी सरकारको मन्त्र‍िपरिषद् आज विस्तार हुँदै छ ।  मन्त्रिपरिषद् विस्तारअघि सरकारले आन्दाेलनरत पहिचान पक्षधर समूहसँग ५ बुँदे सहमति गरेकाे छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

स्रोतका अनुसार कार्की नेतृत्वको सरकारमा मन्त्रालयका लागि नेपाली कांग्रेसबाट प्रदीप सुनुवार, इन्दिरा थापा, रामकुमार खत्री र नेकपा माओवादीबाट नारायण बुर्जा मगर, राजेन्द्रकुमार कार्की नयाँ अनुहार हुनेछन् ।

स्रोतका अनुसार कांग्रेसका सुनुवारले स्वास्थ्य मन्त्रालय, थापाले आर्थिक मामिला तथा योजना राज्यमन्त्री, खत्रीले उद्योग, कृषि सहकारी मन्त्रालयको जिम्मेवारी वहन गर्ने भएका छन् ।

त्यसैगरी, माओवादीका उदयपुरका मगरले खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय र कार्कीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी वहन गर्नेछन् ।

नवनियुक्त मन्त्रीहरूकाे शपथ अपराह्न ४ बजे हुनेछ ।

सरकार विस्तारअघि कोसी सरकार र आन्दोलनरत पहिचान पक्षधरबीच सहमति भएको हाे । बिहीबारदेखि विराटगरको एक होटेलमा भएको वार्तामा शुक्रबार दिउँसो पाँच बुँदे सहमति भएको हो ।

पुन: नामकरणका विषयमा सहमति हुने वातावरण बनाई दुवै पक्षबाट संविधानसम्मत राजनीतिक एवं छलफल अगाडि बढाउने उल्लेख छ ।

सहमतिमा घाइतेहरूको उपचार सरकारले गर्ने, पक्राउ परेका पहिचानवादी नेता तथा कार्यकर्तारूलाई विनासर्त रिहा गर्ने र मुद्दा फिर्ता लिने उल्लेख छ ।

यस्तै, फागुन १० गतेभित्र बस्ने गरी अर्को वार्ताको समय र स्थान निर्धारण गर्ने सहमति पनि भएको छ ।