अभिनेत्री आँचल तिवारीसहित ४ जना भोजपुरी कलाकारकाे मृत्यु

अभिनेत्री आँचल तिवारीसहित ४ जना भोजपुरी कलाकारकाे मृत्यु

नयाँ दिल्ली ।

भोजपुरी फिल्म उद्योगमा यति बेला शोकको स्थिति छ । एउटा दुर्घटनामा यस उद्योगले ४ उदीयमान स्टार कलाकार गुमाएको छ ।

मृत्यु हुनेमा अभिनेत्री आँचल तिवारी पनि छिन् । सञ्चार माध्यमहरुमा छापिएको समाचारअनुसार सबै कलाकारको सडक दुर्घटनामा मृत्यु भएको हो । चारै जनाको मृत्यु घटनास्थलमै भएको बताइएको छ ।

मृत्यु हुनेमा भोजपुरी अभिनेत्री सिमरन श्रीवास्तव, गायक विमलेश पाण्डे र छोटु पाण्डे पनि छन् । जानकारीका अनुसार बिहारको कैमुरमा आइतबार साँझ देवकाली गाउँ नजिक जीटी रोडमा यो सडक दुर्घटना भएको थियो । सोमबार बिहान मात्रै मृतकहरूको सनाखत भएको थियो । त्यसपछि मात्रै प्रहरीले विज्ञप्ति जारी गर्दै मृत्युको पुष्टि गरेको थियो ।

आइतबार मोटरसाइकल, एसयूभी र ट्रक एक आपसमा ठोक्किएको थियो । यस घटनामा ९ जनाको मृत्यु भएको थियो । अधिकांशको मृत्यु घटनास्थलमै भएको बताइएको छ ।

भोजपुरी सिनेमाका पावर स्टार भनेर चिनिन अभिनेता तथा गायक पवन सिंहले एउटा पोष्ट गर्दै मृत्यु भएका सबै स्टारलाई श्रद्धाञ्जली दिएका छन् । बिहारका मुख्यमन्त्री नितिश कुमारले पनि यस दूर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।