भ्रष्टाचार मुद्दा लागेपछि माओवादी नेता पुरीले दिए राजीनामा

भ्रष्टाचार मुद्दा लागेपछि माओवादी नेता पुरीले दिए राजीनामा

काठमाडौं ।

नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितका कोषाध्यक्ष रेवतराज पुरी (गगन) ले पदबाट राजीनामा दिएका छन्।

उनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै विशेष अदालतले गरेको फैसला, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफूविरूद्ध अभियोग दर्ता गरेकाले पदबाट राजीनामा दिएको जानकारी दिएका छन्।

सम्पत्ती शुद्धिकरणको मुद्दामा विशेष अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गर्दै ४ करोड बढी रकम जरिवाना गरेको थियो। त्यस्तै आइतबार मात्रै उनीविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

झापाको दमक नगरपालिका वडा नम्बर १३ र १४ स्थित बालुवाटारको ३८४ रोपनी जग्गा निजीकरण गरेको आरोपमा ९ जना सरकारी कर्मचारीसहित १८७ जना विरूद्ध मुद्दा दायर गरेको थियो।

अख्तियारले गगन पुरीविरूद्ध तीन करोड ३५ लाख ७६ हजार ८८० रुपैयाँ जरिवाना माग गरेको थियो। उनले लिएको जग्गा पनि जफत गर्न अख्तियारले मागेको छ।