मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै २ वर्ष लाग्छ : स्वास्थ्यमन्त्री बस्नेत

मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै २ वर्ष लाग्छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्ने बताएका छन् ।

मंगलबार मन्त्रालयमा स्वास्थ्य सेवा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्रालयमा रहेका विकृति र विसंगति सफा गर्न अझै दुई वर्षको समय लाग्ने बताएका हुन् ।

मन्त्री र मन्त्रालयको कारण कर्मचारीहरूले दुःख पाइरहेको गुनासो आएपछि मन्त्री बस्नेतले कर्मचारी र प्रशासनतन्त्रले गरेका विकृति र विसंगतिबारे आफू जानकार रहेको बताए ।

स्वास्थ्यमन्त्री बस्नेतले चिकित्कसहरूलाई विकट क्षेत्रमा सेवा पुर्‍याउन पठाउँदा आफूमाथि पक्षपात गरेको आरोप लागेको बताए । उनले कर्मचारीहरूले भनेका मानिसलाई पठाएमात्रै पक्षपात नहुने हो ? भन्दै प्रश्नसमेत गरे । उनले सरुवा गर्न लाग्नुपूर्व नै शीर्ष नेतृत्वको घरमा पुगेर रोक्न लगाउने गरेको आरोप लगाए ।

स्वास्थ्यमन्त्री बस्नेतले अस्पतालका स्वास्थ्य सामग्री टेण्डर गरेर ल्याउनुपर्छ भन्दा कर्मचारीहरूले अस्पतालमा तालाबन्दी गर्ने गरेको पनि बताए । उनले सबैभन्दा पहिला कर्मचारीतन्त्र नै सुध्रिनुपर्ने आवश्यकता रहेको पनि बताए ।