भजन शिरोमणीको उपचारमा भएको खर्चमा सरकारले आवश्यक सहयोग गर्ने

भजन शिरोमणीको उपचारमा भएको खर्चमा सरकारले आवश्यक सहयोग गर्ने

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्व. भक्तराज आचार्यको उपचारमा भएको खर्चबारे सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार निधन भएका आचार्यको पार्थिव शरीर मंगलबार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री दाहालले सो प्रतिबद्धता जनाएका हुन् ।

उनले वरिष्ठ गीतकार, संगीतकार भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताए । उनले स्व. आचार्यले गीत, संगीतको क्षेत्रमा पुर्‍याएको योगदान अजर अमर रहने बताए । प्रधानमन्त्री प्रचण्डले उनका सिर्जनाहरू कालजयी रहने बताए ।

‘हामी सबै शोकमा छौँ र लामो अस्वस्थतापछि आज हामी उहाँको अन्तिम बिदाइ गर्दैछौँ । सबैलाई यसले भावविह्वल बनाएको छ, उनले भने, ‘उहाँले गीत संगीतको क्षेत्रमा जुन योगदान गर्नुभएको छ, त्यो अमर अजर नै रहन्छ । कालजयी नै छन् उहाँका योगदानहरू । त्यसले गीत संगीतका क्षेत्रलाई लामो समयसम्म उत्प्रेरणा दिइरहनेछ, दिशा निर्देश गर्नेछ नै । उहाँको उपचारको सन्दर्भमा भएको खर्चका सम्बन्धमा र आउने दिनमा गर्नुपर्ने अन्य कामहरूको बारेमा म परिवारका अन्य सदस्यहरू जो आफैँ पनि संगीत र कलाको क्षेत्रमा स्थापित हुनुहुन्छ, कुराकानी गरेर जे गर्न सकिन्छ, नेपाल सरकारको तर्फबाट त्यो सहयोग हुने विश्वास व्यक्त गर्दछु ।’