बालकुमारी घटनाबारे ओली- नैतिकता नभएकाे मन्त्री, हुतिहारा सरकार !

बालकुमारी घटनाबारे ओली- नैतिकता नभएकाे मन्त्री, हुतिहारा सरकार !

काठमाडाैँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार हुतिहारा भएकाे बताएका छन् ।

एमाले केन्द्रीय समिति बैठकलाई मंगलवार सम्बोधन गर्दै ओलीले आफैँले बनाएको आयोगले दोषी करार गर्दा पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा नगरेको भन्दै आपत्ति जनाएका हुन् ।

‘छानबिन आयोगले मन्त्री दोषी हो भनिसक्यो । न मन्त्रीले राजीनामा गर्छन्, न प्रधानमन्त्रीसँग कारबाही गर्ने हुती छ । नैतिकता नभएका मन्त्री र हुतिहारा सरकार छ’ उनले भने, ‘आफैँले बनाएको आयोगले दोषी करार गरेको छ, जुन दोषका कारण मान्छे मरे, प्रहरी कारबाहीमा परे । तर मन्त्रीले राजीनामा गर्नु नपर्ने ? गठबन्धनले यही गरेको छ, लोकलाज हाँसेको छ ।’

यस्तै ओलीले गिरीबन्धु टिस्टेट जग्गा प्रकरणमा आफ्नो नेतृत्वको सरकारले कुनै पनि हिनामिना नगरेको दाबी गरेका छन् । गिरीबन्धुमा अदालतको आदेश अनुसार कानुनमात्र बनाएको ओलीको भनाइ छ ।

‘हाम्रो समयमा गिरीबन्धु टि स्टेट प्रकरणमा कुनै प्रकारको लेनदेन र सट्टा पट्टा भएको छैन’, पूर्व प्रधानमन्त्री ओलीले भने, ‘अदालतले कानुन बनाउनु भनेकाले बनाएको मात्र हो ।’

अध्यक्ष ओलीले ललिता निवास जग्गा प्रकरणमा जोडिएका आफू निकटकालाई सरकारले जोगाएको भन्दै सुन प्रकरणमा पनि सरकारले त्यसै गरेको बताए ।

‘ललिता निवास काण्डमा फ्रम द भेरि बिगिनिङ । यो यत्तिकै भयो होला हिनामिना ? ’, ओलीले भने, ‘वाइडबडीको गर्नुपर्‍यो नि छानबिन !’

ओलीले टेरामक्स काण्डमा मन्त्रीहरु नै झन्डा हल्लाएर अख्तियारमा बयान दिइरहे पनि सरकारले बेवास्ता गरेको बताए । उनले सरकारका हरेक निकायलाई कमजोर बनाउने काममा सरकार नै लागिरहेको आरोप लगाए ।