ग्रामीण स्वावलम्बनका सेयर सदस्यलाई सहकारी शिक्षा

ग्रामीण स्वावलम्बनका सेयर सदस्यलाई सहकारी शिक्षा

श्रीकृष्ण सिग्देल

वालिङ ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको एक सहकारीले आफ्ना सेयर सदस्यलाई वित्तीय साक्षरता र सहकारी शिक्षा प्रदान गरिरहेको छ ।

गाउँपालिकाकै अब्बल र ठुलो ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारीले अन्तर समूहलाई सहकारी शिक्षा प्रदान गरेको हो । पछिल्लो समय सहकारीहरू समस्यामा परेका बेला आफ्ना सेयर सदस्यहरूलाई आफ्नो सहकारीको अवस्थासँगै वित्तीय साक्षरता र सहकारी शिक्षा कार्यक्रम अगाडि सारेको सहकारीका प्रवन्धक शालिकराम काफ्लेले जानकारी दिए ।

सहकारीको आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रमअनुसार अन्तरसमूहलाई पशु बिमा, सामाजिक सामुदायिक कार्यक्रम र सहकारीका समस्याका बारेमा प्रशिक्षण दिइरहेको प्रबन्धक काफ्लेले बताए ।

उनका अनुसार पहिलो आग्रीखर्क, दोस्रो रापाकोट र तेस्रो चरणको केवरेमा सम्पन्न भइसकेको छ । यो कार्यक्रम गाउँपालिकाका सबै वडामा सम्पन्न गर्ने काफ्लेले बताए ।

आफ्ना सेयर सदस्यलाई आयआर्जनको बाटोमा लैजान र सहकारीलाई बलियो बनाउन यो कार्यक्रम सफल हुने विश्वास लिइएको काफ्लेको भनाइ छ ।

झन्डै ३२ सय सेयर सदस्य रहेको सहकारीमा सेयर पुँजी १ करोड ८० लाख छ । सहकारीमा १३ करोड बचत तथा जगेडा कोषमा ५ करोड रहेको प्रबन्धक काफ्लेले बताए । ३२ करोड रकम सहकारीले कृषि, उद्यमी, व्यवसायी, शिक्षालगायतमा लगानी गरेको जनाएको छ ।

सहकारीले प्रदान गरेको सहकारी शिक्षामा सेयर सदस्यको सहभागिता अत्यन्तै उत्साहजनक रहेको सहकारीका अध्यक्ष बोधराज रेग्मीले बताए । सहकारीप्रति सेयर सदस्यको विश्वास बढ्दो रहेकाले नै सहकारीमा खराब कर्जा नरहेको दाबी अध्यक्ष रेग्मीको छ ।

यो सहकारीले अर्जुनचौपारी गाउँपालिकाका सेयर सदस्य तथा गैर सेयर सदस्यलाई आवश्यकता अनुसारको कृषि उपज, कृषि सामग्री र पशुपक्षीका लागि सामग्रीहरू अनुदानमा वितरण गर्दै आएको बताइएको छ ।

पशु बिमामार्फत् आफ्ना सेयर सदस्यको पशुहरूको सुरक्षण कार्यक्रमसमेत प्रभावकारी र आकर्षण रहेको सहकारीले जनाएको छ । सहकारीले दिने सेवा सुविधाकै कारण सहकारीप्रति सेयर सदस्यको विश्वास जितेको अध्यक्ष रेग्मीले बताए ।