त्रिविकाे उपकुलपतिका लागि ३ जनाको नाम सिफारिस गरेकाेमा कांग्रेस र एमालेकाे विरोध

त्रिविकाे उपकुलपतिका लागि ३ जनाको नाम सिफारिस गरेकाेमा कांग्रेस र एमालेकाे विरोध

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेपछि सत्ता साझेदार दल कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमालेले विरोध जनाएका छन् ।

सफारिस समितिले आइतबार प्राडा चित्रबहादुर बुढाथोकी, प्राडा टंकनाथ धमला र प्राडा केशरजंग बराललाई सिफारिस गरेको छ । एमाले अध्यक्ष केपी ओलीले असफल भइसकेका व्यक्तिलाई उपकुलपति बनाउन खोजेको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘असफल भइसकेका मानिस छनाेट गर्ने । तीन जानमा तेस्रो नियुक्ति होलाजस्तो छ ।’ सिफारिसमा परेका बराल पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति हुन् । पोखरा विश्वविद्यालयमा रहँदा उनमाथि भ्रष्टाचारको आरोप लागेको थियो । तर उनले सफाइ पाइ सकेका छन् ।

सत्ता साझेदार दल कांग्रेसका महामन्त्री गगन थापाले पनि भीसी सिफारिसमा असन्तुष्टि जनाएका छन् ।

महामन्त्री थापाले सरकारले केही दिनभित्रै राजनीतिक भागवण्डाको आधारमा नै उपकुलपति नियुक्ति गर्ने तयारी गरिरहेको तर खुला प्रतिस्पर्धा भनेर जनतालाई झुक्याउने काम गरेको बताएका हुन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महामन्त्री थापाले विश्वविद्यालयको नेतृत्व चयनदेखि पठनपाठनलगायत धेरै विषयमा सुधार गर्नुपर्ने भए पनि प्रधानमन्त्री प्रचण्डले पुनः गल्ती दोहार्‍याएको दाबी गरे ।

थापाले उपकुलपति नियुक्ति प्रक्रियामा प्रधानमन्त्रीको नियत नै ठीक नभएको जिकिर गरे । उनले प्रधानमन्त्री प्रचण्डलाई खुला प्रतिस्पर्धाबाट नै उपकुलपति चयन गरेको छु भन्ने सोचेर सबैलाई झुक्याएको जस्तो लागे पनि आफैँ झुक्किरहेको बताए । महामन्त्री थापाले अहिले खुला प्रतिस्पर्धा भनिए पनि नियत भागवण्डाकै राखिएको बताए ।