‘आगामी बजेट उत्पादनशील क्षेत्रमा केन्द्रित हुन्छ’

‘आगामी बजेट उत्पादनशील क्षेत्रमा केन्द्रित हुन्छ’

काठमाडौँ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित बजेट हुने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री महतले यस्तो बताएका हुन् । उनले प्रिबजेटको विषय यही संसद् अधिवेशनमा हुने भएकाले सांसदहरूले दिएको सुझाव र मुलुकको सीमित स्रोत र साधनलाई हेरेर उत्पादनशील क्षेत्रमा समेट्ने गरी सम्बोधन गर्ने गरी अगाडि बढ्ने बताए ।

उनले विगतमा बजेटको प्राथमिकता र सिद्धान्तको विषयमा छलफल गर्न समय हुने थिएन तर समय व्यवस्था भएको भन्दै यसले संसद र सरकारबीच बजेट, नीति तथा कार्यक्रमका विषयमा संवाद गर्न पाउने अवस्था सिर्जना भएको बताए ।

उनले विगतका सरकारले आयोजनाको स्रोत सुनिश्चित नभई आयोजनाहरू घोषणा गरेको कारण धेरै आयोजनाहरूको काम अधुरो रहेको बताए । उनले आयोजनाहरूमा बजेट नै नराखी ठुलो ठेक्का लगाएको कारण पनि परिणाम आउन नसकेको बताए ।

उनले सरकारले यो अधिवेशनमा धेरै विधेयकहरू पेश गर्ने तयारी गरेकाले संसद्ले बिजनेस प्रशस्त पाउने बताए ।